Monday, October 25, 2010

Beautiful photos of Nepal.

Most Beautiful Places in Nepal.

They Don't Quit -Inspirational Video

विद्रोह त्यसै जन्मिँदैन

शकुन्तला जोशी
  • संसारमा जति पनि राजनीतिक विद्रोह र द्वन्द्व भएका छन्, ती सबैको अन्तिम लक्ष्य दिगो शान्ति नै हो 


    शान्ति प्राप्त गर्न चाहनेले हिंसालाई प्राथमिकता दिनु हुँदैन', यो भनाइ नेपोलियन बोनापार्टको हो । भनाइबाट के पुष्टि हुन्छ भने संसारको अन्तिम सत्य शान्ति स्थापना गर्नु नै हो ।
    आन्तरिक द्वन्द्वको चपेटामा फँसेको हाम्रो मुलुकमा पनि शान्ति चाहिएको छ ।  समाजमा विभेद, अन्याय, अत्याचारले ठाउँ लिँदा विद्रोह जन्मन्छ । संसारमा जति पनि राजनीतिक विद्रोह र द्वन्द्व भएका छन्, ती सबैको अन्तिम लक्ष्य दिगो शान्ति नै हो । द्वन्द्वका ती मुद्दाहरूलाई समयमा सही किसिमले सम्बोधन र समाधानको पहल नगरिँदा कैयौं विद्रोह खालि विद्रोहकै लागिमात्र हुन् कि भन्ने जस्तो पनि देखिन्छ । ती विद्रोहहरू वर्षौंसम्म लम्मिरहनुमा सम्बन्धित राज्यपक्षले उनीहरूको मुद्दालाई गरेको बेवास्ता नै जिम्मेवार हुन्छ ।
    पछिल्लो समय दक्षिण अपि|mकाका नेल्सन मन्डेलाको नेतृत्वमा रंगभेद विरोधी आन्दोलन चल्यो । उनको कुशल राजनेतृत्वका कारण सन् १९९० मा युद्ध समाप्त भयो । दिगो विकास र स्थायी शान्तितर्फ त्यो समाज अगाडि
    बढिरहेछ । यसो हुनाको खास कारण त्यहाँका सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक परिवर्तनका लागि चालिएको ठोस कदम हो । सफल भूमिसुधारमार्फत विपन्न तथा भूमिहीनहरूलाई भूमालिक बनाइयो । उनीहरू चरम दासताबाट मुक्त भएर स्वतन्त्र नागरिक बन्न पाए, विद्रोह अन्त्य भयो । तर अन्य अपि|mकी राष्ट्रहरू सुडान, सेरालियोन, कंगो लगायतमा अनेकौं प्रयत्नहरूका बाबजुद पनि शान्ति स्थापना हुनसकेको छैन । विद्रोहीहरू पटक-पटक युद्धविराम गर्छन्, तर विद्रोह समाप्त हुँदैन । त्यहाँ धेरै मान्छेहरू मरिरहेका छन्, महिलाहरू जोखिमयुक्त जीवन गुजारिरहेका छन्, कुपोषणले निखि्रएका बालबालिकाको भविष्य अन्योल छ ।
    छिमेकी भारतलाई हेरौं, विश्वको महाशक्ति बन्ने होडमा उत्रिएको लोकतान्त्रिक देशमा विभिन्न खाले विद्रोहहरू निरन्तरजसो भइरहेका छन् । आदिवासी विद्रोहको रूपमा नक्सलवादी आन्दोलन होस् या माओवादी सशस्त्र विद्रोह होस्, त्यो भारतीय महाद्वीपमा डढेलोजस्तै फैलिएको छ । लोकतन्त्र र शान्तिका बखान पिटेर भारत सरकार त्यो डढेलो निभाउने कोसिस गरिरहन्छ । विद्रोह दबाउने प्रयासमा हजारौं मानिसहरूले ज्यान गुमाइसकेका छन् । भारतको स्वतन्त्रता संग्राममा पनि ती मान्छेहरू लडेका थिए । भारत स्वतन्त्र भयो, तर उनीहरूको विद्रोह जारी रह्यो । किनकि राज्यद्वारा उनीहरूलाई भूमिहीन बनाउने क्रम रोकिएन । उनीहरूको निम्नतम अधिकार सुनिश्चित गरिएन । ती आदिवासीहरूलाई आफ्नै आदिभूमिबाट लखेटेर राज्यबाट  त्यहाँको खनिज तथा वनपैदावरको एकलौटी शोषण भयो । यसकारण विद्रोहले निरन्तरता पाइरहेछ । अहिले छत्तीसगढ, पश्चिम बंगाल, उडिसा र झारखण्ड क्षेत्रमा विद्रोहले चर्काे रूपधारण गरेको छ । भारत सरकार उनीहरूको मागलाई सम्बोधन गर्नुको साटो दमनले उनीहरूलाई सिध्याउनेतर्फ अघि बढेको देखिन्छ ।  दमनले शान्ति होइन, झन् चरम र दीर्घकालीन रूपमा अशान्ति सिर्जना गर्छ ।
    नेपालमा पनि राणाकालको अन्त्य भयो, फेरि पञ्चायत जन्म्यो, बहुदलीय व्यवस्था आयो । लाग्यो, अब देशमा शान्ति आयो । तर त्यस्तो धेरै बेर रहेन । फेरि माओवादी जनयुद्ध सुरु भयो । एक दसक लामो यो विद्रोहमा सिमान्तीकृत, दलित, आदिवासी, जनजाति, विपन्न, शोषित, उत्पीडित जनता संलग्न भए । यसमा ठूलो संख्यामा महिलाहरू संलग्न थिए । पितृसत्तात्मक सामाजिक शोषणका सिकार महिलाहरू बन्दुक समाउन पुगेका थिए । बहुदलपछि जननिर्वाचित सरकार आए पनि त्यसले ती उत्पीडित, पिछडिएका, हेपिएका वर्गको समस्याको सही ढंगले सुनुवाइ गर्न सकेन । त्यसपछि पुनः विद्रोहको थालनी भयो । ती आम समस्याहरूको उचित व्यवस्थापनको पहल गरिने सहमतिका आधारमा विद्रोह रोकिएको छ । तर अझै पनि सबै क्षेत्रलाई सही किसिमले सम्बोधन हुन नसकेका कारण विभिन्न क्षेत्रीय, जातीय, भाषिक, लैंगिक विद्रोहहरू उठिरहेकै छन् । यदि माओवादीले त्यो किसिमको सशस्त्र विद्रोह नगरेको भए अर्को कुनै पक्षले त विद्रोह गथ्र्यो नै । समस्या नेतृत्व कसले गर्‍यो भनेर हेर्नुभन्दा पनि केमा छन्, भन्नेतर्फ ध्यान दिन नसक्नुमा देखिन्छ । जसका कारण स्थायी शान्ति र दिगो विकासको बाटो अवरोध भइरहेको छ ।
    देशमा उत्पन्न अस्थिरता र अशान्तिको जरोे कमजोर अर्थतन्त्रसँग जोडिएको छ । अहिलसम्मको राजनीतिक अस्थिरताको पछाडि उपलब्ध स्रोत र साधनको भागबन्डा नमिल्नुलाई प्रमुख कारण मान्न सकिन्छ । त्यो प्राकृतिक, जैविक वा अन्य किसिमका स्रोत हुनसक्छ । आफू सत्ता वा पहुँचमा भए ती स्रोतको गतिलो हिस्सा आफ्नो भागमा पार्न सकिने सबैको अन्तर्मनले देखेको छ । तर जबसम्म समान सहभागितामा समग्र जनताको जीवनस्तर माथि उठाउन राष्ट्रिय स्रोत र साधनको सदुपयोग गर्न सकिँदैन, तबसम्म शान्तिको कल्पना गर्नु बेकार छ । यसका लागि महिलाहरूको स्रोत परिचालन र उपभोग गर्ने, नागरिक अधिकार सुनिश्चित गरी दण्डहीनताको अन्त्य गर्ने, सम्पूर्ण सिमान्तीकृत वर्गलाई अवसर प्रत्याभूत गर्ने लगायतका पक्षहरूमा राज्यले दृढतापूर्वक कदम उठाउनुपर्छ ।
    भोको पेटले एउटा रोटी या एक डल्लो ढिँडो खान पनि नपाउँदाको पीडाले विद्रोह नजन्माएर के गरोस् त ? अशान्ति सिर्जना गर्ने कारक तत्त्व यिनै हुन् ।
    यी समस्यालाई सम्बोधन नगरेसम्म स्थायी शान्तिको कोरा नारा फलाक्नु व्यर्थ छ । सामाजिक, आर्थिक रूपान्तरणको मुद्दालाई उत्पादनका साधनहरूमा आमजनताको पहुँच नबढाएसम्म, राज्यको मूलप्रवाहमा नागरिकको न्यायिक र समानुपातिक प्रतिनिधित्व नगराएसम्म, दण्डहीनता र राज्यविहीनता अन्त्य गर्दै बढ्दो अपराध, भ्रष्टाचार, तस्करी, महिलामाथि हुने सबैखाले हिंसा र ज्यादतीको अन्त्य नभएसम्म दिगो शान्ति स्थापना हुन सक्दैन ।    
    संविधान बनाउने मूल मुद्दालाई ओझेल पारेर अझै पनि सरकार बनाउने कुरामै झम्टाझम्टी गरिरहे राजनीतिक दलहरूलाई जनताले अविश्वास गर्न बेर नलाग्ला । सामाजिक, आर्थिक रूपान्तरणको मुद्दालाई अगाडि बढाउने प्रतिबद्धतासहित अविलम्ब नयाँ संविधान जारी गर्नतिर नलाग्ने हो भने जताततै फुट्नसक्ने ज्वालामुखीमा कसैको पनि भविष्य सुरक्षित नरहन सक्छ ।